'क्रान्ति र प्रतिक्रान्तिको कारक तत्त्व आन्तरिक जनवाद’
'क्रान्ति र प्रतिक्रान्तिको कारक तत्त्व आन्तरिक जनवाद’
भक्तपुर, ११ मङ्सिर : नेकपा (माओवादी)ले तात्कालिक कार्यदिशा 'जनताको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र’ तय गरेको छ । भक्तपुरमा लगातार ६ दिनसम्म चलेको राष्ट्रिय भेलामा केन्द्रीय समितिको तर्फबाट पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता किरणद्वारा प्रस्तुत दुई प्रस्तावमाथिको व्यापक बहसपछि माओवादीले यस्तो कार्यदिशा तय गरेको हो ।
भेलाकै बीचमा मङ्गलबार बसेको केन्द्रीय समितिको बैठकले छलफलबाट प्रतिनिधिहरूले निकालेको निष्कर्षका आधारमा दुबै प्रस्तावलाई एउटै बनाउने निर्णयलाई अध्यक्ष प्रचण्डले बुधबार प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष प्रचण्डले पार्टीको आगामी कार्यदिशा 'जनताको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र’ हुने भनी प्रस्तुत गर्नुभएको निर्णयलाई भेलाले एकमतका साथ पारित गरेको थियो ।
भेलाले नयाँ कार्यदिशाको आधारमा दुबै दस्तावेजलाई समायोजन गरेर नयाँ दस्तावेज लेख्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । भेलाको भावना र दुबै दस्तावेजका सकारात्मक पक्षलाई परिमार्जित गरी अध्यक्ष प्रचण्डले नयाँ दस्तावेज तयार पारेपछि तल्लो समितिसम्म पुर्याइने बताइएको छ । माओवादीले अहिले प्रयोग गरिरहेको विचारको संश्लेषण र समीक्षा भने आगामी महाधिवेशनले मात्रै गर्नेछ ।
माओवादी पार्टी जीवनकै इतिहासमा उच्च जनवादी अभ्याससहितको बहस मानिएको यो राष्ट्रिय भेलाले 'क्रान्ति र प्रतिक्रान्तिको कारक तत्त्व आन्तरिक जनवाद’ भएको संश्लेषण गरेको छ । भेलाले माओवादीको कार्यशैली बिगि्रएको, वैचारिक अस्पस्तता देखिएको र पार्टी नयाँ आधारमा एकताबद्ध हुनुपर्छ भन्नेमा एकमत जाहेर गरेको थियो ।
भेलाको अन्तिम दिन बुधबार पार्टी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता किरणले प्रस्तावमाथि उठेका विषयका जवाफसहित अनुभूति र वरिष्ठ नेता डा. बाबुराम भट्टराई, रामबहादुर थापा 'बादल’ र केन्द्रीय सचिवालय सदस्य विप्लवले अनुभूति सुनाउनुभएको थियो । पाँचैजना शर्षि नेताले माओवादी पार्टी उच्च बहसका साथ उच्च एकतामा पुगेको र माओवादी कमजोर होस् भन्ने चाहनेहरूको सपना चकनाचुर भएको दाबी गरेका थिए ।
बुधबार भेलाको सुरुमै बोल्नुभएका अध्यक्ष प्रचण्डले माओवादी इतिहासको मौलिक विकाससहित प्रतिक्रियावादीसँगको निर्णायक मुठभेडमा आइपुगेको बताउनुभएको थियो । निर्णायक मुठभेडमा शानदार विजयी हुने उहाँको भनाइ थियो । विश्वको कम्युनिस्ट आन्दोलनको उच्च स्थानमा माओवादी नै भएको दाबी गर्दै भेलाको ऐतिहासिकता विश्व कम्युनिस्ट आन्दोलनसँग जोडिएकोे भनाइ अध्यक्ष प्रचण्डले राख्नुभएको थियो ।
भेलाले माओवादीमा नयाँ रूपान्तरण, नयाँ एकता र नयाँ सङ्कल्पको बहसको सुरुआत गरेको पनि उहाँले बताउनुभयो ।
विगतमा चर्चामा आउने गरेको प्रचण्डपथ भने उहाँले नहटाइने स्पष्ट पार्नुभयो । 'प्रचण्डपथ हाम्रो पुँजी हो,’ अध्यक्ष प्रचण्डले भन्नुभयो, 'अरू कम्युनिस्ट यसबारे बहस गर्न चाहन्छन् भने हामी बहसका लागि भने तयार छौं ।’ उहाँले प्रचण्डपथलाई माओवादीको मात्रै नभएर सबैको पुँजी बनाउन बहस आवश्यक रहेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले अहिले माओवादीको राष्ट्रिय भेलाले तय गरेको कार्यदिशाले दुस्मनलाई एक्ल्याउने र आम जनतालाई माओवादीको पक्षमा पार्ने दाबी गर्नुभएको थियो । 'यसले दुस्मनलाई एक्लो पार्नेछ र जनतालाई हाम्रो पक्षमा पार्नेछ,’ प्रचण्डको भनाइ थियो । उहाँले कार्यदिशाबारे आफूले र किरणले पेस गरेको प्रस्ताव सारमा एउटै भएकोमा आफूहरू सहमत भएको बताउनुभएको थियो ।
अध्यक्ष प्रचण्डले 'जनताको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय गणतन्त्र’को कार्यदिशालाई कार्यान्वयन गर्न सरकार, सदन र सडकलाई मुख्य कार्यक्षेत्र बनाइने बताउनुभएको थियो । 'सरकारबाट हस्तक्षेप गर्छौं, सदनमा पनि र सडकलाई विशेष ध्यान दिन्छौं,’ अध्यक्ष प्रचण्डले भेलामा भन्नुभयो ।
सो अवसरमा अध्यक्ष प्रचण्डलेे भेलाबाट निस्कादा माओवादीहरू निराश होऊन् भन्ने दुस्मनहरूले चाहेको भन्दै तिनीहरू यो भेलाबाट पराजित भएको ठोकुवा गर्नुभयो । 'यसले
दुस्मनहरूलाई परास्त गरेको छ । मनोबल घटाएको छ,’ उहाँले भन्नुभयो, 'हाम्रा प्रतिनिधिको मनोबल, नेपाली जनताको मनोबल, विश्व कम्युनिस्ट आन्दोलनको मनोबल माथि उठाएको छ ।’
भेलामा भएको उच्च बहसबाट माओवादी उच्च एकतामा पुगेको उहाँको भनाइ थियो । 'यो बहस नभएको भए यो एकता पनि हुने थिएन,’ उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले दुईलाइन सङ्घर्ष र जनवादको नियमले नयाँ विकास चाहिरहेको भन्दै यो भेला त्यसको अभ्यास भएको बताउनुभयो । भेलाको समापनमा प्रचण्डले माओवादी आफ्नो लक्ष्य प्राप्तिका लागि लड्न तयार रहेको प्रमाणित भएको बताउनुभएको थियो । सो अवसरमा उहाँले सेना समायोजन र संविधान निर्माण कार्य एकसाथ अगाडि बढाइने जानकारी गराउनुभयो ।
अध्यक्ष प्रचण्डले आफूहरू भेलामा आउँदा मोर्चा हान्न आएजस्तो र जाँदा उत्सव मनाएजस्तो भएको अनुभूति राख्नुभएको थियो । द्वन्द्ववादको महान् प्रयोग भेलामा भएको उहाँको निष्कर्ष थियो ।
भेलामा वरिष्ठ नेता किरणले लामो छलफलपछि राष्ट्रिय भेला २१ औं शताब्दीको क्रान्तिको कार्यदिशाको संश्लेषणमा पुगेको दाबी गर्नुभयो । अध्यक्ष प्रचण्ड र आफूले भेलामा पेस गरेको प्रस्ताव दुबै क्रान्तिको चिन्ताका साथ प्रस्तुत भएको भन्दै नेता किरणले यो नेपाली क्रान्ति मात्र नभएर विश्वक्रान्तिसँग सम्बन्धित भएको बताउनुभएको थियो ।
नेता किरणले पनि यो भेलाको उच्च बहसबाट माओवादी पार्टी उच्च एकतामा पुगेको धारणा राख्नुभयो । एकता, सङ्घर्ष, रूपान्तरणको प्रक्रियाबाट मात्रै क्रान्तिकारी पार्टी बन्ने भन्दै किरणले 'भेला एकता, सङ्घर्ष र रूपान्तरणको प्रयोगमा शानदार सफल भयो,’ उहाँले भेलामा जनवादले विकास गर्ने अवसर पाएको पनि बताउनुभयो ।
पार्टी सङ्घर्षबाट मात्रै बन्ने ठोकुवा गर्दै नेता किरणले एकता पनि सङ्घर्षबाट मात्रै हुने बताउनुभयो । 'एकता सङ्घर्षबाट मात्रै हुन्छ,’ उहाँले भन्नुभयो, 'सङ्घर्षबिनाको एकता मनोगत मात्रै हो,’ किरणले क्रान्ति र प्रतिक्रान्तिको कारक तत्त्व आन्तरिक जनवाद भएको भेलाको निष्कर्ष पेस गर्नुभएको थियो ।
सो अवसरमा नेता किरणले भेलामा पार्टीभित्र सबैभन्दा नेतृत्व दाबी नगर्ने आफू भएको स्पष्ट पार्नुभएको थियो । 'कतिपयले मलाई नेतृत्वका लागि दस्तावेज पेस गरेको भने । तर हाम्रो पार्टीमा सबैभन्दा नेतृत्व दाबी नगर्ने म नै हुँला,’ किरणले भन्नुभयो, 'सायद यो मेरो कमजोरी पनि हो कि ।’
भेलामा अर्का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले भेलाको उच्च बहसले माओवादीमा उच्च एकता पैदा गरेको बताउनुभयो । महान् बहसबाट महान् एकता हुने बताउँदै नेता भट्टराईले भन्नुभयो, 'यस्ता बहस सकियो भन्ने होइन । यस्तो बहस फेरि पनि हुन आवश्यक छ ।’ उहाँले नेपालमा समाजवादी मुलुक रूस र चीनमा भन्दा फरक रूपले माओवादीले सरकार र सदन चलाएको बताउनुभयो ।
सबैको विजय भयो
नेता बादलले भेलाले इतिहास, जनता, कार्यकर्ता र विश्वभरिका उत्पीडित सर्वहारा वर्गले सोधेको जवाफ दिएको दाबी गर्नुभयो । उहाँले विचारको बसहबाट कसैको जीत र हार नभएर सबै विजयी भएको बताउनुभयो । उहाँले २१औं शताब्दीको क्रान्ति सर्वहारा वर्गको नेतृत्वमा मात्रै हुने बताउनुभयो ।
वरिष्ठ केन्द्रीय सदस्य विप्लवले भेलाबाट माओवादी हरेक चीजको निरन्तरतालाई भङ्ग गरेर रूपान्तरणमा पुगेको बताउनुभयो ।
लगातार ६ दिनसम्म चलेको भेलाको समापनमा सामना परिवारको गीतसँग अध्यक्ष प्रचण्ड, नेता किरण, भट्टराईलगायत अधिकांश केन्द्रीय सदस्यहरू नाच्नुभएको थियो ।